सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्यगर्न सरकारले नीति ल्याउन लागेको बताएका छन्। सोह्रौं योजना कार्यान्वयन तथा समपूरक र विशेष अनुदान विषयमा प्रदेश र स्थानीयतह लक्षित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कडेलले पक्षधरताको आधारमा बजेट विनियोजन हुने परिपाटीलाई अन्त्यगर्न आफ्नो उदेश्य रहेको धारणा राखेका हुन् ।
जननिर्वाचित सरकारले पक्षधरता र अनुहारको आधारमा बजेट विनियोजन गर्दा आम मतदातामा त्यसले गलत सन्देश जाने हुनाले पक्षधरता भन्दा आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारले नीतिगत र कानूनी व्यवस्था गर्न मुख्यमन्त्री कडेलको जोड थियो । उनले भने, ‘अनुहार र पार्टी हेरेर बजेट व्यवस्थागर्दा आफ्नो पार्टीबाट स्याबासी त पाइन्छ होला तर त्यसले जनतामा नकारात्मक सन्देश जान्छ र जनताले त्यसलाई स्वीकार गर्ने अवस्था रहँदैन ।’
मुख्यमन्त्री कडेलले बजेट विनियोजन गर्ने तरिका केन्द्र देखि नै आलोचना मुक्त नभएको बताउँदै संंघदेखि सबै तहका सरकारले बजेट विनियोजन गर्ने तरिकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने पनिबताए । प्रदेश सरकारले थोरै भएपनि कर्णालीका ७ सय १८ वटै वडामा बजेट पठाउने व्यवस्था गरेको बताउँर्दै उनले बजेट पठाउने विगतको केन्द्रिकृत अभ्यासलाई परिवर्तन गरी वडाको सिफारिसलाई नै आधार मानेर विनियोजन गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए ।
कार्यक्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराजअधिकारीलेआगामीआर्थिक वर्षको बजेट र कार्यक्रमको तयारी स्वरुप सातै प्रदेशमा यस्तो खालको कार्यक्रम गरिएको जानकारी दिए। दुई दिन सम्म चल्ने उक्त अभिमुखीकरण कार्यक्रममा सोह्रौ योजना, सरकारको नीति तथा कार्यक्रमबारे कर्णाली प्रदेश सरकार र स्थानीयतहका जनप्रतिनिधिहरु बीच छलफल हुनेछ।










